top of page

लिभिङ टुगेदर’ बस्दै आएकी प्रेमिकाको हत्या

  • लीला श्रेष्ठ, भक्तपुर
  • May 22, 2016
  • 2 min read

जेष्ठ ९, २०७३- रातमाटे १, महादेवस्थान नुवाकोटकी १८ वर्षीय अञ्जना थापा र महादेवस्थान ८, मण्डनपौवा काभ्रेका २८ वर्षीय श्याम श्रेष्ठको रातमाटेमै चिनजान भयो । ५ वर्षीय छोराका बाबु श्याम र अञ्जनाको भेट कामकै सिलसिलामा ३ वर्षअघि भएको हो । श्याम रातमाटेमा ट्रक चलाउँथे भने अञ्जना त्यतिबेला कक्षा १० मा पढदै थिइन् ।

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि श्यामकै सल्लाहमा अञ्जना काठमाडौं आइन् । कोटेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना भई कौशलटार बस्दै आएकी उनी गत साउनदेखि सूर्यविनायकस्थित गणेशकुमार दुवालको घरको चौथो तलामा बस्दै आएकी थिइन् । सधैंको भेटघाटपछि गत मंसिरदेखि भने उनीहरू ‘लिभिङ टुगेदर’ मा थिए । अञ्जनासँगको सम्बन्ध बाक्लिएपछि श्रीमतीसँग श्यामको सम्बन्ध चिसियो । उनले श्रीमती र घरपरिवारलाई हेरचाह गर्न छाडे ।

श्याम र अञ्जनाको झाँगिएको सम्बन्धमा गत वैशाखदेखि खटपट पर्न थाल्यो । अञ्जना नुवाकोट गएर फर्किएपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो । सधैं फोन सम्पर्क, भेटमा झगडा हुन थाल्यो । अञ्जनाले श्यामको फोन उठाउन पनि छाडिन् ।

पछिल्लो समय भक्तपुर–कलंकी चल्ने ७ नम्बर रुटको बा३ख ५०८२ नम्बरको मिनीबस चलाउँदै आएका श्याम गत वैशाख २१ गते साँझ बस सूर्यविनायक चोकमा पार्किङ गरी मदिरा सेवनपछि अञ्जनाको कोठामा गए । उनी कोठामा पुग्दा अञ्जना बेलुकाको खाना पकाइवरी बाथरुममा नुहाइरहेकी थिइन् । त्यतिन्जेल श्यामले अञ्जनाको मोबाइल चलाएर बसे । मोबाइल चलाएकै नाममा विवाद बढेपछि श्यामले अञ्जनालाई टाउको र कन्चटमा मुक्का हानर हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कन्चटमा मुक्का लागेर भुईंमा लडेकी अञ्जना उठिनन् । ‘यसअघि पनि बेहोस भएको नाटक गर्थी र अहिले पनि बहाना पारेको भनेर त्यतिकै छाडें,’ श्यामले प्रहरीलाई बयान दिएका छन् । अञ्जनालाई भुईंमै छोडेर उनी अञ्जनाको ओछयानमा सुतेर निदाए । निन्द्राबाट ब्युझँदासमेत उनी नउठेपछि श्यामले भुईंबाट उठाएर ओछयानमा राखे । ओछयानमा राखेपछि पनि केही प्रतिक्रिया नदिएपछि श्यामले अञ्जना मरी भन्ने लागेर कोठाबाट निस्केर आफूले चलाउने गरेको बसमै गई सुते ।

भोलिपल्ट बिहानै श्याम पुन: अञ्जनाको कोठामा पुगे । अञ्जना मृत अवस्थामै पाएपछि ढोकाबाहिरबाट चाबी लगाएर चाबी सोही ढोकामाथिको चेपबाट भित्रै खसाली हिँडेको अनुसन्धानमा खुलेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।

अञ्जनाको मृत्युपछि उनले श्रीमतीलाई फोन गरी च्याम्हासिंहस्थित डेरामा गए । घटनाको वास्तविकता नबताई अञ्जना झुन्डिएर मरी अब हामी यहाँ नबसौं पुलिसले पक्रिन्छ भनी श्रीमती र ५ वर्षीय छोराका साथ कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारत पन्जाबको लुधियानास्थित आफन्तकोमा पुगेका थिए । भारतबाट पुन: श्रीमती र छोराको साथ कञ्चनपुर नाका हुँदै नेपाल फर्कने क्रममा उनलाई गत बुधबार दाङको लमहीमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुई दिनसम्म अञ्जनाको चहलपहल रोकिएपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको लामो प्रयासपछि मृतक अञ्जनाको हत्या आरोपी श्यामलाई पक्राउ गरेको जगातीका प्रहरी प्रमुख डीएसपी मित्रबन्धु शर्माले बताए । शर्माका अनुसार हत्याको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित: जेष्ठ ९, २०७३

http://kantipur.ekantipur.com/news/2016-05-22/20160522215502.html


 
 
 

Comentarios


Featured Posts
Check back soon
Once posts are published, you’ll see them here.
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Social Icon

© 2016 by The PPNMEDIA

  • Facebook Social Icon
  • Twitter Social Icon
  • Google+ Social Icon
  • YouTube Social  Icon
  • Pinterest Social Icon
  • Instagram Social Icon
bottom of page