कर्मचारीलाई प्रधानमन्त्रीको यस्तो निर्देशन
- everestdainik.com
- Feb 15, 2017
- 1 min read

पाँचथर, फाल्गुण ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आगामी बैशाखको अन्त्य र जेठको पहिलो हप्तामा भित्रमा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको भन्दै त्यसको तयारीमा लाग्न नेपाल सरकारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटनका लागि पाँचथर पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँका सरकारी कार्यालयका कर्मचारीहरुलाई सामूहिक निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेसँग राजनीतिक रुपमा सकारात्मक छलफल भएको भन्दै आगामी निर्वाचन तोकिएकै समयमा हुने उनले बताए । निर्वाचनका लागि प्रमूख दल र नेताहरु सम्वेदनशील रहेको बताउँदै कर्मचारीहरुलाई पनि निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’
प्रधानमन्त्री प्रचण्डले थपे, ‘हामीकहाँ एकातिर विकास आयोजनामा छुट्टाएको रकम खर्च गर्न नसक्ने र अर्कोतिर पैसा पुगेन भन्दै बजेट माग्ने समस्या छ । पूँजीगत खर्च बढाउने सरकारको संकल्प छ, तपाईहरु पनि पूँजीगत खर्च बढ्ने गरी काम गर्नुहोस् । आ—आफ्नो कार्यक्षेत्र भित्रका विकास आयोजनाको निरीक्षण र अनुगमन गर्नुहोस्, समयमै गुणस्तरीय काम गर्न प्रेरित गर्नुहोस् ।’
निर्देशनका क्रममा प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशित गरेका छन् । कार्यक्रममा पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापाले जिल्लाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
Comments