चीन २१औं शताब्दीको विश्वनायक
- ratopati अभिषेक जोशी
- Jun 24, 2016
- 4 min read

‘सिल्क रोड’ परियोजनाले दिएको झट्का कति सशक्त थियो भने दुनियाँ आफ्नो मुठ्ठीमा रहेको भ्रम पाल्ने अमेरिका र दक्षिण एसियालाई आफ्नो सुरक्षासीमा भन्ठान्ने भारत एकसाथ तिल्मिलाउन पुगे । गुरुचेला तिल्मिलाउनुका दुईवटा कारण छन् : पहिलो, आफ्ना चङ्गुलबाट मुलुकहरु फुत्किँदै जानु र दोस्रो, शताब्दीको विश्व नायक बन्न खोज्नु ।
विश्लेषकहरु भारतलाई चीनको प्रतिस्पर्धी ठान्ने गर्दछन् र अक्सर अर्थतन्त्र लगायतका क्षेत्रमा यी दुई मुलुकको तुलना हुने गर्दछ । तर सिल्क रोड परियोजना सार्वजनिक गरेर चीनले भारत आफ्नो छाया बराबरसमेत नरहेको प्रमाणित गरिदिएको छ । हुन पनि आफ्ना सहरहरुमा बुलेट ट्रेन दौडाउने लालसा बोेकेर विदेशीसँग सहयोग माग्दै हिँडिरहेको भारत र विकास परियोजनामार्फत् विश्वमा आर्थिक उपनिवेशहरु निर्माण गर्न खोजिरहेको चीनबीच आकाश जमिनको फरक देखिँदैछ ।
दक्षिण एसियाली मुलुकहरुको विकास गर्ने हेतु सन् १९८५ मा स्व. राजा वीरेन्द्रको सक्रिय सहभागितामा सार्क गठन भएको थियो । गठन भएको तीस वर्ष बितिसक्यो तर उपलब्धि के त भन्दा भारतको दादागिरी । यसबाहेक दक्षिण एसियामा गरिबी, अशिक्षा, भेदभाव, बेरोजगारी नै मात्र छ । न कुनै सडक सञ्जाल न कुनै नहर न कुनै जलविद्युत आयोजना विकास भएको छ; जसलाई देखाएर भन्न सकियोस् सार्क गठनको मुख्य उद्देश्य यही हो । क्षेत्रफल, जनसंख्या र अर्थतन्त्रको हिसाबले बलियो र सबै राष्ट्रहरुको बीचमा बसिरहेको भारतले सार्कराष्ट्रहरुको विकासमा कहिले पनि चासो दिएको देखिँदैन ।
उसले चाहेको भए पर्यटन, यातायात, सिंचाइ, खानेपानी तथा जलविद्युतको क्षेत्रमा धेरै उपलब्धिमूलक कामहरु हुनसक्थे । यसबाट सबैभन्दा धेरै आर्थिक लाभ उसले नै लिन्थ्यो पनि किनभने बर्सेनि भोकमरीका कारण पाँच हजार किसानहरु आत्महत्या गर्छन् भारतमा । खानेपानी र विद्युतको हाहाकार अर्काे ठूलो समस्याका रुपमा टाउको उठाउँदैछ भारतभित्र । यही वर्षको खडेरीका कारण लाखौँ हेक्टर जमिन चिरा परेको र तीसौँ करोड मानिसहरु खानेपानीको अभावसँग जुध्नु परेको समाचार बाहिर आयो । दस करोडभन्दा माथि त भिखारीहरु मात्रै छन् भनिन्छ भारतमा । बम्बई, दिल्ली, कलकत्ता लगायतका पुराना र विश्व चर्चित सहरहरुमा सडक, पानी, सरसफाइ तथा विद्युतको अभाव झनझन विकराल बन्दै गइरहेको छ । यदि उसले सार्क राष्ट्रबीच साँचो मनले विकास साझेदारी चाहेको भए आजको दिनमा ऊ आफैँ यो भूमरीमा फसिरहेको हुन्थेन । न त चीन दक्षिण एसियामा पस्यो; मेरा सीमाहरु असुरक्षित भए भन्दै रुन कराउन नै पथ्र्याे । पाकिस्तानलाई किनारा गर्ने उसको भित्री उद्देश्यले गर्दा सार्क गतिहीन संगठनको रुपमा रहिरह्यो । सार्कलाई गतिहीन बनाउनका लागि उसले बीबीआईएनको अवधारणा अगाडि सा¥यो । बीबीआईएनमा उसँग भौगोलिक सीमा जोडिएका चार सार्कराष्ट्र छन्– नेपाल, पाकिस्तान, बङ्गलादेश तथा भुटान । तर पाकिस्तान छैन । बीबीर्आइएनका चारवटा मुद्दा पानी व्यवस्थापन, विद्युत, पूर्वाधार तथा यातायात विकास साझेदारीमा पाकिस्तान नअटाउने कुरै थिएन । बीबीआईएनको गठन पनि त्यस्तो बेला भयो जतिखेर माल्दिभ्स, श्रीलङ्का र पाकिस्तानभित्र चीन ठूलाठूला विकास परियोजनाहरु सुरु ग¥यो । यसरी हेर्दा सार्कका अन्य राष्ट्र आफ्नो छायाबाट फुत्के पनि नेपाल, भुटान र बङ्गलादेश नफुत्किऊन् भन्ने मनसायले पनि काम गरेको जस्तो देखिन्छ बीबीआईएन गठनमा । ऊ यस्तो रक्षात्मक अवस्थामा आइपुग्न अरु कसैको होइन उसकै हैकमवादी सोच जिम्मेवार रहेको छ ।
दक्षिण एसिया सधैँ भरी गरिबी र अशान्तिको चपेटामा फसिरहोस् र मेरो दादागिरीको दाल यसरी नै पाकिरहोस् भन्ने चिन्तन मात्रै हावी रहेको देखिन्छ भारतमा । यसका लागि उसले केही रणनीतिहरु अमल गरेको छ । पहिलो, छिमेकीको राजनीतिलाई स्थिर बन्न नदिने । दोस्रो, छिमेकमा एजेन्टहरु खडा गर्ने र अशान्ति मच्चाइरहने । तेस्रो, विकास परियोजनाको लालच दिने तर कार्यान्वयन नगर्ने । चौथो, छिमेकीले अन्य मुलुकसँग विकास साझेदारी गर्न खोज्यो भने जसरी पनि त्यसलाई असफल तुल्याउन लागि पर्ने । पाँचौँ, सधैँभरी पाकिस्तानलाई आतङ्ककारी हो भनिराख्ने र युरोप अमेरिकाको आशीर्वाद थापिराख्ने ।
कुनै पनि मानेमा चीनलाई विश्वसँग जोडिन नदिन अमेरिका सधैँ सचेत थियो । दक्षिण एसियामा चीन छिर्न नपाओस् भन्नेमा भारत चनाखो थियो । शक्ति राष्ट्रहरुको भीडमा शत्रु ज्यादा र मित्र कम पाएको चीनका लागि विश्व राजनीतिमा पकड जमाउनु चानचुने कुरा होइन । यसका लागि उसले ती मुलुकहरुलाई पहिलो प्राथमिकतामा राखेको देखिन्छ जो अमेरिका र भारतको घृणासँग जुधिरहेका छन् ।
अफ्रिकातिर नजर लगाउने हो भने एउटा रिपोर्ट सार्वजनिक भएको छ । जसमा भनिएको छ– चीनले अफ्रिकामा १०४६ परियोजनाहरु सम्पन्न गरिसकेको छ । २२३३ किलोमिटर रेल्वे र ३३५० किलोमिटर सडकमार्ग निर्माण भइसकेको छ भने अँझै ३०३० परियोजनाहरु सञ्चालन भइरहेका छन् । अहिले चीन अफ्रिकन नेताहरुको पहिलो रोजाइको मुलुक बनेको छ । लगभग हरेकजसो अफ्रिकी मुलुकमा उसका कुनै न कुनै परियोजनाहरु सञ्चालनमा छन् तथा आपसी व्यापार सम्झौताहरु सम्पन्न भइरहेका छन् । कुनै समय अमेरिकन व्यापारीहरुको स्वार्थका कारण गृहयुद्धमा फसेको अफ्रिका अहिले विकासमार्फत् तङ्ग्रिन खोज्दैछ । यस कार्यमा उसलाई इमानदार भएर सहयोग गरिरहेको छ चीन ।
त्यसैगरी, चीनले पाकिस्तानमा चाइना पाकिस्तान आर्थिक करिडोर परियोजना सञ्चालन गरिरहेको छ । यो करिडोर चीनको कासगरदेखि पाकिस्तान–इरान सिमानामा रहेको ग्वादरसम्म फैलिनेछ । त्यहाँ एउटा बन्दरगाह निर्माण गरिँदैछ । करिडोरसँगै जोडिएर अन्य सडकहरु, विद्युत आयोजनाहरु तथा रेलमार्गहरु पनि निर्माण गरिनेछन् ।
नेपालमा पनि उसले एकसाथ कैयौँ विकास आयोजनाहरुमा हात हालेको छ । पारवाहन सम्झौता सम्पन्न भइसकेको छ, अप्टिकल फाइबर जोडिएको छ, लुम्बिनी विमानस्थल द्रुत गतिमा निर्माण भइरहेको छ । रेलमार्ग, जलविद्युत आयोजना, सडकमार्ग आदिको विकासमा पनि उसले चासो देखाइरहेको अवस्था छ ।
श्रीलङ्कामा कोलोम्बो पोर्ट सिटी परियोजना सञ्चालनमा रहेको छ । माल्दिभ्सको विकासमा चीन सबैभन्दा ठूलो दाता रहेको माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुलले बताएका छन् । अब माल्दिभ्समा आठ सय मिलियन डलरको एयरपोर्ट विस्तार योजना सञ्चालन हुँदैछ चीनको लगानीमा । श्रीलङ्का र माल्दिभ्सपछि चीनले बङ्गलादेशमा पनि विकास परियोजनाहरु सञ्चालन गर्दैछ । बङ्गलादेशले आफैँ अगाडि सरेर चीनलाई औद्योगिक विकास निर्माणका निम्ति अनुरोध गरिसकेको छ ।
यसरी हेर्दाखेरि चीनले एउटा महत्वपूर्ण रणनीतिक चाल चलेको देख्न सकिन्छ । विश्वमा सबैभन्दा ठूलो अविकास, गरिबी, अस्थिरता अफ्रिका र दक्षिण एसियामा रहेको छ । यी मुलुकहरुको पछौटेपनको एउटा मुख्य कारण विदेशी हस्तक्षेप रहेको र त्यसलाई राजनीतिभन्दा पनि विकासको माध्यमबाट पराजित गर्न सकिने र आपूm स्थापित हुन सकिने तथ्यलाई उसले अनुसरण गरेको देखिन्छ । विकसित र सम्पन्न मुलुकहरुसँग मित्रता गर्न जति कठिन छ; गरिब मुलुकहरुसँग विकास मार्फत् मित्रता गर्न त्यति नै सजिलो छ र यिनीहरुकै सहयोगमा आपूm विश्व नायक बन्न सक्ने सम्भावनालाई उसले स्वीकारेको देखिन्छ ।
छनौटमा पनि त्यस्ता मुलुकहरु परेका छन् जो विशेषगरी अमेरिका र भारत प्रताडित छन् । सम्भवतः यो पनि उसको एउटा रणनीति हो । अमेरिका र भारतले फ्री तिब्बत मामिलामा चीनलाई घेर्ने रणनीति एक समय निकै कुशलतापूर्वक सञ्चालन गरेका थिए । आज भारत अमेरिका प्रभाव रहेका राष्ट्रहरुमा उभिएर चीन उनीहरुलाई नै घेरिरहेको छ । बाध्यता यस्तो छ, उनीहरु रुनु कराउनुबाहेक केही गर्नसक्ने अवस्थामा छैनन् ।
Comments