शनिबार र आइतबार कोरियन भाषा परीक्षा, तीन हजारलाई उत्तीर्ण गराइने
- मिडिया एनपी
- Jun 18, 2016
- 1 min read
मिडिया एनपी, काठमाडौँ, ४ असार । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिनुभयो । परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ । यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४ सय ४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १ सय ७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४ सय ५१ छन् । यस वर्ष तीन हजार एक सयलाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १ सयजना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् ।

काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था यस पटक गरिएको छ । सक्कल कागजातबिना परीक्षामा समावेश नगराइने निर्देशक बास्तोलाले बताउनुभयो । आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षा मार्फत कोरिया गएका छन् ।
Comentários